Sagun Khabar
बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल डेढ वर्षदेखि चिकित्सकविहीन

बैतडी–बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ बर्षदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ । विशेषज्ञ चिकित्सक अभावका कारण पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको हो ।

केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ती गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको हो । करारमा कार्यरत चिकित्सक स्थायी सेवामा नाम निकालेर अन्यत्र गएपछि केन्द्र लामो समयदेखि चिकित्सकविहीन बनेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । 

केन्द्रमा चिकित्सक नहुँदा विभिन्न समस्या झेल्नुपरेको उनले बताए । गएको महिना सिगास गाउँपालिकाको जंगलमा घाइते भएको चितुवाको बच्चाको उपचारका लागि डडेल्धुराबाट चिकित्सक बोलाउनुपरेको उनले जानकारी दिए । त्यस्तै, शिवनाथ गाउँपालिकामा एक स्थानीयको गाईको उपचारका लागि पनि बाहिरबाटै चिकित्सक ल्याउनुपरेको थियो ।

पन्तका अनुसार सामान्य उपचार सेवा केन्द्रमै उपलब्ध भए पनि विशेषज्ञ चिकित्सकको हस्ताक्षर आवश्यक पर्ने रिपोर्ट तथा जटील रोगको उपचारमा समस्या हुने गरेको छ । गम्भीर प्रकृतिका बिरामी पशुका लागि कहिलेकाहीँ धनगढीबाट समेत चिकित्सक बोलाउनुपर्ने अवस्था रहेको पन्तले बताए । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको उक्त केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा सेवाग्राही प्रभावित भएका छन् ।

विशेषज्ञ सेवा अभावका कारण पशुमा लाग्ने रोगको पहिचान, निदान, ल्याब परीक्षण, शल्यक्रिया तथा निरोगिता प्रमाणीकरणजस्ता सेवा प्रभावित बनेका छन् । यसले पशुपालन क्षेत्रमा लगानी गरेका किसानहरुलाई समस्या भएको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update