
बैतडी –बैतडीका १० ओटा स्थानीय तहमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । गत आर्थिक बर्षमा उत्कृष्ट कार्य सम्पादन गरेका र कोभीड १९ को प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेलेका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयले सम्मानित गरेको हो ।
स्वास्थ्य कार्यालयको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्यकर्मीहरुलाई नगद ५ हजार, प्रमाणपत्र र दोसल्ला सहित सम्मानित गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
स्थानीय तहले सिफारिश गरेका स्वास्थ्यकर्मीहरु मध्ये छनौट गरेर उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्यचौकीका प्रमुख किशोरप्रकाश लुहार, सुर्नया गाउँपालिकाको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहरा, दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बर्थिङ सेन्टरमा कार्यरत अनमी सपना रानामगर, डिलाशैनी गाउँपालिकाको हाडाकोट स्वास्थ्यचौकीमा कार्यरत विरेन्द्र बोहरा र पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा कार्यरत विनोद अवस्थीलाई सम्मानित गरिएको हो ।
यस्तै मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हरिना कुमारी भण्डारी, शिवनाथ गाउँपालिकाको शर्माली स्वास्थ्यचौकीमा कार्यरत रमेशराम तिरुवा, सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनकसिंह धामी, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीमा कार्यरत दिनेशप्रसाद तिवारी र पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्यचौकीमा कार्यरत नरेन्द्रबहादुर धानुकलाई सम्मानित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।