बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे चार बजे गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका बेला जनप्रतिनिधि र कर्मचारीमाथि हातपात भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले भाडामा लिएको घरका घरधनी बिरसिंह धामीका छोरा दिलेन्द्र धामीले कार्यालय भित्र प्रवेश गरेर गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्ट, कर्मचारीहरू वीरेन्द्र प्रसाद जोशी र प्रदिप कुमार जोशीमाथि हातपात गरेको जनाइएको छ ।
गाउँपालिका परिसरमै जनप्रतिनिधि र कर्मचारीमाथि हातपात र धम्कीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले दोषीलाई कानुन अनुसार कारवाही हुनुपर्ने र सुरक्षाको प्रत्याभूती हुनुपर्ने माग गरेको छ ।
राष्ट्र तथा नागरिक सेवामा समर्पित जनप्रतिनिधि र कर्मचारीमाथि कार्यस्थलमै भएको यस्तो घटनाले समग्र गाउँपालिका परिवारमा त्रास सिर्जना भएको उल्लेख गर्दै गाउँपालिकाले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धानको माग गरेको हो ।
घटनामा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कडा कारवाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग गाउँपालिकाले आग्रह गरेको छ ।




