Sagun Khabar
सम्झौता कार्यान्वयन गर्न सुर्नया गाउँपालिकालाई जेनजी समूहको आग्रह, आन्दोलनको चेतावनी 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकालाई यसअघि जेनजी समूहसँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरिएको छ । 

समूहले आइतबार गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै यसअघि भएको ११ बुँदे सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको हो । गाउँपालिकामा ३९ दिन तालाबन्दी गरिएपछि ११ बुँदे सम्झौता गरेर तालाबन्दी खोलिएको र त्यो बेला गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिएपनि अहिलेसम्म नगरिएको जेनजी समूहले जनाएको छ । 

गाउँ कार्यपालिकाले पुस मसान्तपछि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको भएपनि सो निर्णय उल्ट्याएको जेनजी समूहको आरोप छ । 

गएको कार्तिक ३० गते गाउँपालिका र जेनजी समूहबीच ११ बुँदे सम्झौता भएर तालाबन्दी खोलिएको थियो । असुल गर्नुपर्ने बेरुजु तत्काल असुल गर्नुपर्ने, भू उपयोग र वातावरण अतिक्रमण रोक्न पहल गर्नुपर्ने, मदिरा विक्रि वितरण ऐन अनुसार कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, वडास्तरमा सामाजिक परीक्षण गर्नुपर्ने, जेनजेड आन्दोलनमा बैतडीबाट शहीद भएका परिवारलाई गाउँपालिकाले तुरुन्त राहत उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि सञ्चालन भएका योजनाहरुको छानबीनका लागि स्वतन्त्र छानबीन समिति बनाउनुपर्ने, खेलकुदका लागि बजेट विनियोजन गर्नुपर्ने, माग भएका सूचना उपलब्ध गराउनुपर्ने, करार कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, गाउँपालिकाभित्र ठेक्कामार्फत सञ्चालन भएका योजनाहरु समयमै सम्पन्न गर्नुपर्ने लगायतका कुराहरु सम्झौतामा उल्लेख गरिएको थियो । 

सम्झौता भएको ५ महिना हुनै लाग्दा समेत ती सम्झौताहरु कार्यान्वयन नभएकाले फेरि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको जेनजी अगुवा विशाल भट्टले बताए । गाउँसभा अगाडि नै आफूहरुसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र अन्यथा आन्दोलन गरिने उनले चेतावनी समेत दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update