बैतडी–बैतडीमा ज्वरोका कारण एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको पुर्चौंडी नगरपालिका –८ मल्लादेहीकी १२ बर्षीया पूजा बोहराको आइतबार राति ज्वरोका कारण मृत्यु भएको बताइएको छ ।
उच्च ज्वरोपछि उपचारका लागि हाट स्वास्थ्यचौकीमा पुर्याइएकी बोहराको उपचारकै क्रममा मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए ।
बोहरामा देखिएको लक्षणका आधारमा उनमा मेनेन्जाइटिस अर्थात मष्तिष्क ज्वरोको समस्या हुन सक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा ज्वरोका बिरामीहरु नरहेको बताइएको छ ।
यसअघि पुर्चौंडी नगरपालिका–१० महरा गाउँमा गएको फागुन ११ र १६ गते मौसमी ज्वरोका कारण एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । ज्वरोका कारण १० बर्षीय विकास महरा र १३ बर्षीय विनोद महराको मृत्यु भएको थियो ।
महरागाउँमा पछिल्लो समयमा भने ज्वरो नियन्त्रणमा आइसकेको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । महरागाउँमा मौसमी ज्वरोबाट झण्डै २ सय जना प्रभावित भएका थिए । उक्त क्षेत्रमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
मौसममा आएको परिवर्तनका कारण यो समयमा ज्वरोका बिरामी बढ्ने भएकाले समयमै स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुका साथै उमालेको वा शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।




