Sagun Khabar
कक्षा –८ को पालिकास्तरीय परीक्षाका लागि सुर्नयामा ७ ओटा केन्द्र निर्धारण 

बैतडी –यही चैत ५ गतेदेखि सञ्चालन हुने कक्षा ८ को पालिकास्तरीय परीक्षाका लागि सुर्नया गाउँपालिकाले ७ ओटा केन्द्र निर्धारण गरेको छ । 

आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले पालिकाभरी ७ ओटा केन्द्र निर्धारण गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

सुर्नया गाउँपालिका–१ स्थित उच्चाकोट मावि गुर्केलीका लागि सोही विद्यालयलाई केन्द्र तोकिएको छ । 

नेपाल राष्ट्रिय मावि ग्वानी र वासुदेव मावि लिस्किटाका लागि नेपाल राष्ट्रिय मावि ग्वानीमा केन्द्र निर्धारण गरिएको छ । 

केदार आधारभूत विद्यालय सल्लाघारी डुङरी, भुवनेश्वर मावि गोयली, वासुदेव आवि तडीगाउँ र विश्वेश्वर आवि बाँसका लागि केदार आवि सल्लाघारी डुङरीमा केन्द्र राखिएको छ । 

यस्तै पञ्चदेव आवि डबराली, राष्ट्रिय मावि फाटीगडा, उदयदेव मावि पालिगडा र रौलेश्वर मावि रामकीबरायलका लागि पञ्चदेव आवि डबरालीमा केन्द्र तोकिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

यस्तै सिद्धनाथ आवि धुलिधार र शंकर संस्कृत मावि मूलखटालीका लागि सिद्धनाथ आवि धुलिधारमा केन्द्र राखिएको छ । 

यसैथरी गलिनाथ आवि चौका, भुवनेश्वर मावि चौथाली र सिगास मावि मुुसे रौटेका लागि गलिनाथ आवि चौकामा केन्द्र निर्धारण गरिएको छ । 

यस्तै भूमीराज मावि ढोले, केदार मावि कठमडा र कैलपाल मावि झाड्बोका लागि भूमीराज मावि ढोलेलाई केन्द्र तोकिएको सुर्नया गाउँपालिकाले जनाएको छ । 

सुर्नया गाउँपालिकामा कक्षा ८ को पालिकास्तरीय परीक्षामा १९ विद्यालयमा ४ सय ५४ जना परीक्षार्थी सहभागी हुने बताइएको छ । 

यस्तै कक्षा ५ को पनि पालिकास्तरीय परीक्षा सञ्चालन हुने र परीक्षा केन्द्र भने सम्बन्धित विद्यालयमै रहने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

सुर्नया गाउँपालिकाको पालिकास्तरीय परीक्षाको तयारी पूरा भएको समेत जनाइएको छ । सबै केन्द्रहरुमा प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्री पठाइसकिएको छ । यस्तै सबै केन्द्रहरुमा केन्द्राध्यक्ष समेत नियुक्त गरिसकेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update