बैतडी–बैतडीको सदरमुकाम गढीमा इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै महिला मानव अधिकार रक्षकहरुले प्रर्दशन गरेका छन् ।
आज बिहान महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
हत्यारालाई कानुन अनुसार कारवाही हुनुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, बालिका तथा किशोरीहरुको सुरक्षा र संरक्षणमा राज्यले ध्यान दिनुपर्ने लगायतका मागहरु राखेर ज्ञापन पत्र बुझाइएको महिला मानव अधिकार रक्षक सञ्जाल बैतडीकी अध्यक्ष कल्पना रानाले बताइन् ।
महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालमा आवद्ध सदस्यहरुको सहभागितामा प्लेकार्डसहित प्रशासन पुगेर ज्ञापन पत्र बुझाइएको रानाले बताइन् ।
यौन हिंसा, हत्या लगायतका जघन्य अपराधहरु हुन नदिन राज्यका तर्फबाट ठोस कदम चाल्नुपर्ने उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
१६ बर्षीया इनिशा विकको सुर्खेतमा बलात्कारपछि हत्या गरिएको थियो । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा उनको शव भेटिएको थियो ।
दोषीलाई कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।




