Sagun Khabar
सुर्नयामा आधारभूत तहको पालिकास्तरीय परीक्षा चैत ५ देखि 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आधारभूत तह कक्षा ५ र कक्षा ८ को पालिकास्तरीय परीक्षा आगामी चैत ५ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

आधारभूत तह परीक्षा सञ्चालन समितिको बैठकले चैत ५ देखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको र सोही अनुसार परीक्षाको तयारी भइरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

कक्षा ८ का लागि गाउँपालिकाले ७ ओटा केन्द्र तोकेको र तोकिएका केन्द्रमा परीक्षा सञ्चालन हुने बताइएको छ । कक्षा ५ का लागि भने विद्यालयलाई नै केन्द्र तोकिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

कक्षा ८ को परीक्षामा पालिकाभरीका १९ ओटा विद्यालयका ४ सय ६५ जना परीक्षार्थी सहभागी हुनेछन् भने कक्षा ५ को परीक्षामा २७ ओटा विद्यालयका ४ सय ३८ जना परीक्षार्थी सहभागी हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

आधारभूत तहको परीक्षालाई व्यवस्थित बनाउन गत बर्षदेखि कक्षा ८ का लागि अन्यत्र विद्यालयमा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update