Sagun Khabar
नौ बर्षसम्म अलपत्र गोइडाखोला पुल निर्माणको काम अन्तिम चरणमा 

बैतडी –बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड जोड्ने गोइडाखोलामा निर्माणाधीन पुलको काम नौ वर्षपछि अन्तिम चरणमा पुगेको छ । उक्त पुल बैतडीको स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ र मेलौली गरी तीन स्थानीय तहलाई जोड्ने सडकको सुरुवाती भागमा पर्छ । 

पुल निर्माणका लागि २०७३ सालमा ठेक्का सम्झौता गरिएको थियो । खोलामा पुल नहुँदा विशेषगरी बर्खायाममा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो । हिउँदमा खोलामा पानी कम हुँदा आवतजावत सहज भए पनि वर्षायाममा पानी बढ्दा सवारीसाधन आवतजावत प्रभावित हुने गरेको स्थानीयले बताएका छन् ।

काठमाडौंस्थित रफिना कन्स्ट्रक्सन ले २०७३ पुस १२ गते पुल निर्माणको ठेक्का लिएको थियो । २०७४ पुस ११ भित्र काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको हो । 
सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर कपिलप्रसाद पन्तका अनुसार १५ मिटर लम्बाइको दुई लेनको पुल २ करोड ७० लाख ३४ हजार १३१ रुपैयाँ लागतमा निर्माण भइरहेको छ । उनका अनुसार आउँदो असारसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

निर्माण कम्पनीका तर्फबाट जिम्मेवारी सम्हालेका स्थानीय निर्माण व्यवसायी मदनमोहन बिष्टले जग्गा मुआब्जासम्बन्धी मुद्दाका कारण निर्माणमा ढिलाइ भएको बताए । मुद्दा फिर्ता भइसकेपछि अहिले निर्माणको काम तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिए ।

यो सडक खण्डमा दैनिक एक सयभन्दा बढी साना–ठूला सवारीसाधन आवतजावत गर्ने गर्छन् । खोला बढेका बेला सवारी वारपार गराउन नसक्दा यात्रु तथा चालकलाई समस्या हुने गरेको जिप चालक पारस मंगोलाले बताए ।

हाल पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय मातहत राखिएको छ । पुल निर्माणको काम भने अघिदेखि नै सुरु भएकाले सडक डिभिजन कार्यालय बैतडीको जिम्मेवारीमै रहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका निमित्त डिभिजन प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।

उनका अनुसार पुल निर्माणसँगै कालोपत्रे र छेउतर्फ रेलिङ राख्ने कामसमेत गरिनेछ । चालु आर्थिक वर्षभित्र सबै काम सम्पन्न गरी यातायात सञ्चालन सहज बनाउने लक्ष्य रहेको उनले बताए । पटक–पटक म्याद थप गर्दै अन्ततः चालु आर्थिक वर्षको अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने गरी अन्तिम म्याद तोकिएको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update