Sagun Khabar
बैतडीका नौ पालिकामा नवनिर्वाचित सांसद भण्डारीले गरे भेटघाट 

बैतडी –भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित बैतडीका सांसद हरिमोहन भण्डारीले जिल्लाका १० ओटा स्थानीय तहमध्ये नौ पालिकामा भेटघाट गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भए लगत्तै भेटघाट कार्यक्रममा जुटेका सांसद भण्डारीले स्थानीय नागरिकहरुसँग विभिन्न बिषयमा छलफल गरेका छन् । स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष सम्वाद गर्दै उनीहरुका समस्या सुन्ने र समस्या समाधानका लागि आवश्यक योजना बनाउन भेटघाट कार्यक्रम राखिएको रास्वपाका युवा नेता विशाल भट्टले बताए । 

सिगास गाउँपालिका बाहेकका नौ ओटा पालिकामा एक चरणको भेटघाट कार्यक्रम सम्पन्न भएको भट्टले बताए । 

निर्वाचनअघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरेको स्मरण गर्दै उनले अहिले जनतालाई धन्यवाद दिन र उनीहरूको समस्या बुझ्न पुनः गाउँ–गाउँ पुगेर समस्या सुन्ने गरेको सांसद भण्डारीले बताए । ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ । 

आफू सम्पूर्ण जिल्लावासीको प्रतिनिधि तथा अभिभावक भएको उल्लेख गर्दै सांसद भण्डारीले जस्तोसुकै समस्या पर्दा निसंकोच आफूलाई सम्झन स्थानीयलाई आग्रह गरेका छन् । 

पूर्वाधार विकास, विद्युत् विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सुधार ल्याउन आफू प्रतिबद्ध रहेको उनले बताएका छन् । 

अहिले नौ पालिकामा स्थानीयहरुसँग भेटघाट गरेर सांसद भण्डारी काठमाण्डौं प्रस्थान गरेका छन् । नयाँ सरकार बनेपछि फेरि जनताका बीचमा आउने उनले बताए । नयाँ सरकारमा बैतडीबाट मन्त्रीको दाबी गरिने सांसद भण्डारी निकट श्रोतले बताएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update