बैतडी –प्रतिनिधि सभा सदस्य निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा मतदाता भेटघाट र धन्यवाद कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दसहितको टोली सबै पालिकामा पुग्ने गरेर कार्यक्रम तय गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
राप्रपाले यो चुनावमा कम्तीमा १० हजार मत ल्याउने अपेक्षा गरेको भएपनि प्रत्यक्षतर्फ २ हजार ६८१ मतमा खुम्चिएको छ । विभिन्न कारणले राप्रपाका मत प्रभावित भएका अध्यक्ष भट्टले बताए । राप्रपाले समानुपातिकतर्फ पनि ३ हजार ४७१ मतमात्रै ल्याएको छ ।
चुनावको नतिजा सोचे अनुरुप नआएको भएपनि मतदाताहरुसँग उम्मेदवारसहित भेटघाटमा जुटेको अध्यक्ष भट्टले बताए । आफूहरुको स्पष्ट एजेण्डा भएकाले मतदाताहरुलाई धन्यवाद दिन सबै पालिकामा पुग्ने योजना रहेको उनले सुनाए ।
आज मेलौली र शिवनाथमा कार्यक्रमको आयोजना गरेको राप्रपाले भोलि पञ्चेश्वर र पाटनमा भेटघाट कार्यक्रम राखेको छ ।
यस्तै फागुन २९ गते दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिका, फागुन ३० गते दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, चैत १ गते पुर्चौंडी नगरपालिका र चैत २ गते सिगास गाउँपालिकामा भेटघाट कार्यक्रम तय गरिएको राप्रपाका सम्पर्क समाज केन्द्रीय सदस्य केशवबहादुर चन्दले बताए ।
चुनावको समयमामात्रै नभएर राप्रपाले अब निरन्तर रुपमा जिल्लाबासीहरुसँग भेटघाट गर्ने योजना बनाएको अध्यक्ष भट्टले दाबी गरे । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लामा पुरानो साख फर्काउने योजनासहित आफूहरु लागिपर्ने उनले बताए ।




