बैतडी–बैतडीबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चतुरबहादुर चन्दले आफ्नो चुनावी खर्च सार्वजनिक गर्दै निर्वाचन आयोगमा पेश गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३२ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचनमा कार्यालयमा पेश गरेका हुन् ।
उम्मेदवार चन्दले पेश गरेको निर्वाचन खर्च विवरणमा सवारी साधनमा ३ लाख २० हजार, मतदाता प्रशिक्षण कार्यक्रमका लागि ८ लाख ८५ हजार, वडास्तरीय प्रचारप्रसारमा ३ लाख ७५ हजार, सामाजिक सञ्जाल तथा सञ्चारमा १ लाख ७५ हजार, सम्पर्क कार्यालय स्थापनामा ४ लाख ७५ हजार, स्टेशनरीमा २ लाख ६५ हजार, प्रचारप्रसार सामग्रीमा ४ लाख ५० हजार,नमूना मतपत्र छपाइमा २ लाख ७५ हजार, उम्मेदवार मनोनयनमा १० हजार र खाना ६५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरुलाई आम्दानी र खर्चको विवरण पेश गर्नका लागि सूचना जारी गरेको र अहिलेसम्म कांग्रेस उम्मेदवार चन्दले मात्रै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम उम्मेदवारहरुले अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने प्रावधान रही आएको छ । बैतडीमा ११ जना उम्मेदवार रहेका थिए ।




