Sagun Khabar
बैतडीमा मतपेटिका मतगणनास्थल पुर्याइयो, सर्वदलीय बैठकपछि मतगणना शुरु हुने 

बैतडी –बैतडीमा २ सय १५ ओटै मतदान केन्द्रका मतपेटिका मतगणनास्थलमा पुर्याइएको छ । हिजो मतदान सकिएलगत्तै मतपेटिका ढुवानीको काम शुरु भएको र टाढाका मतपेटिका आज बिहान मतगणनास्थलमा ल्याइ पुर्याइएको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले बताए । 

जिल्लाभरीका मतपेटिका संकलन गरेर मतगणनास्थलमा भण्डारण गरिएको र बिहान ११ बजेतिर सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृत भट्टले बताए । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना कार्य अगाडि बढाइने उनले बताए । आज दिउँसोदेखि मतगणना शुरु हुने बताइएको छ । 

बैतडीमा ४६ दशमलव ७८ प्रतिशत मतदान भएको छ । जिल्लामा कुल मतदान गर्नेमा पुरुषको भन्दा ७ हजार ९९७ बढी महिलाले मतदान गरेका छन् ।

जिल्लाको कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जसमध्ये ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्यले मतदान गरेका छन् । 

बैतडीमा मंसिर सुरुमै पुरुष मौसमी कामदारको रुपमा काम गर्न हिउँदमा भारत जाने र चैतमा मात्र घर फर्किने भएकाले मतदान गर्ने पुरुषको भन्दा महिलाको मतदान गर्ने संख्या बढी देखिएको हो ।  

जिल्लाको कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७८ हजार ९८७ पुरुष ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्यांक छ ।

जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update