Sagun Khabar
बैतडीमा नगद रकम र निर्वाचन प्रशिक्षण सामग्रीसहित एकजना पक्राउ 

बैतडी–बैतडीमा नगद रकम र निर्वाचन प्रशिक्षण सामग्रीसहित एक जना पक्राउ परेका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले सोही ठाउँका ५२ बर्षीय भानदेव भट्टलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । 

उनको साथबाट नगद ७९ हजार पाँच सय र निर्वाचन प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । निर्वाचनको मौन अवधिमा नगद रकम र नमूना मतपत्रसहित फेला परेपछि भट्टलाई सशस्त्रको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । 

पक्राउ परेका भट्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा भट्टले आफू कांग्रेसको कार्यकर्ता भएको बताएका छन् । प्रहरी निरीक्षक सिंहले भने, ‘सशस्त्र प्रहरीको गस्ती टोलीले भट्टलाई नगद र निर्वाचन प्रशिक्षण सामग्रीसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गरिरहेका छौं ।’

तर नेपाली कांग्रेस बैतडीले भने भानदेव भट्टसहितका केही व्यक्तिहरुले एमालेका कार्यकर्ताहरुसँग मिलेर मतदाताहरुलाई पैसा बाँडेको भन्ने सूचना आएकाले निगरानी गरिदिन मंगलबार स्थानीय प्रशासनलाई पत्र पठाएको थियो । भट्ट नेपाली कांग्रेसकै विपक्षमा लागेपछि निगरानीका लागि कांग्रेसले प्रशासनलाई पत्र पठाएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । 

Nc-1772625679.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update