बैतडी –बिहीबार हुने मतदानको बैतडीमा तयारी पूरा भएको छ ।
जिल्लाका एक अस्थायीसहित २ सय १५ ओटै मतदान केन्द्रमा मतदानको तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
बिहीबार बिहान ७ बजेदेखि सञ्चालन हुने मतदानका कार्यका लागि जिल्लाभरी आवश्यक सबै तयारी पूरा भएको उनले बताए ।
मतदान केन्द्रमा मतदाताहरुको सहजताका लागि लाइनको व्यवस्थापन गर्ने, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुको सहजताका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले निर्धक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आग्रह गरेका छन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लाभरी २ हजार ७ सय बढी सुरक्षाकर्मी खटाइएका प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ ११ जना उम्मेदवारले मनोनयन दर्ता गरेको भएपनि १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा २ हजार ७० अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाताहरुका लागि सदरमुकाम गढीस्थित दशरथचन्द आधारभूत विद्यालयमा केन्द्र राखिएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।




