Sagun Khabar
बैतडीको महरागाउँमा फैलिएको रोग ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो ।

भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो ।

भाइरल ज्वरोबाट प्रभावित भएकामध्ये १० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएकोमा मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । यो रोग सामान्य भए तापनि विशेष गरी बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।

पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा ६५ वर्षमाथिका दम, मुटु मधुमेह दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने उनले बताए । महरागाउँका एकैघरका दुई दाजुभाइको मृत्यु हुनुका साथै गाउँमा मौसमी ज्वरो ‘इन्फ्लुएञ्जा बी’ प्रकोप देखिएको थियो । त्यस लगत्तै उक्त क्षेत्रमा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको थियो ।

गाउँमा अझै पनि ज्वरोको प्रकोप रहेकाले साबुन पानीले हात धुने, भीडबाट टाढा बस्ने खोक्दा÷हाछ्युँ मुख छोप्नेलगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकहरुर्मीले आग्रह गरेका छन् ।

मौसमी ज्वरोकै कारण एकै घरका दुई बालकको ज्यान गएपछि महरागाउँ शोकमा डुबेको पुर्चौंडी नगरपालिका वडा नं १० का वडा सदस्य विष्णुदत्त अवस्थीले बताए । 

महरागाउँ र आसपासमा गाउँमा समेत गरी एक सय घरपरिवारका २ सय बढी नागरिक ज्वरोबाट प्रभावित रहेका बताइएको छ । यो समयमा व्यक्तिगत तथा वातावरणीय सरसफाइमा बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update