Sagun Khabar
बैतडी : जनगणनाका लागि गाउँगाउँमा सुपरीवेक्षक 

बैतडी –बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । 

यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणना अन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ । सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने काम जारी रहेको उनले बताए । 

Atrya hospital

गत भदौ ३० गतेदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा भने समस्या भएको पन्तको भनाइ छ । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ । उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ’। 

सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिका बाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको छ । सुपरीवेक्षकको सुरक्षाका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा  मूल गणना गरिने छ । मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ । मेरो गणना, मेरो सहभागिता नाराका साथ जनगणना भईरहेको हो ।
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update