Sagun Khabar
बैतडीमा निर्वाचनको तयारी पूरा, सबै मतदान केन्द्रमा पुगे कर्मचारी 

बैतडी– आगामी बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी बैतडीमा पूरा भएको छ । 

जिल्लाका एक अस्थायीसहित २ सय १५ ओटै मतदान केन्द्रमा मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगेर आवश्यक तयारी गरिरहेका उनले बताए । 

मतदानमा केन्द्रमा खटाएका मतदान अधिकृत,सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायतले निर्वाचनसम्बन्धी आवश्यक कामहरु सम्पादन गरिरहेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।

मतदान केन्द्रमा कर्मचारीहरुले सूचना टाँस गर्ने, मुचुल्का उठाउने, सर्वदलीय बैठक आयोजना गर्ने र मतदान केन्द्र व्यवस्थापनको काम गरिरहेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । 

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । 

यस्तै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाभरी २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । 

जिल्लाका १० ओटै स्थानीय तहमा नेपाली सेनाले बेस क्याम्प सञ्चालनमा ल्याएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी आवश्यकता अनुसार खटाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update