बैतडी–यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर आज मध्यरातिदेखि सीमा नाका बन्द गरिने भएको छ ।
भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका र महाकाली नदीमा सञ्चालित घाटहरु आज राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सीमा क्षेत्रमा चुनावको समयमा हुन सक्ने अवाञ्च्छित गतिविधि रोक्नका लागि सुरक्षा निकाय चनाखो रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
बैतडीमा ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । झुलाघाट नाकामा झोलुङ्गे पुलमार्फत आवतजावत गरिन्छ भने तल्लासोराड क्षेत्रका घाटहरुमा डुङ्गमार्फत आवतजावत गरिन्छ ।
यस्तै निर्वाचन सुरक्षालाई ध्यानमा राखेर दार्चुलाका भारतसँग जोडिएका सीमा नाका पनि आज रातिदेखि बन्द जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुलघाटसहित अन्य नाकाहरु पनि चुनावको समयमा फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।




