Sagun Khabar
प्रतिनिधि सभा निर्वाचन : बैतडीमा सुरक्षाकर्मीहरुको संयुक्त मोटरसाइकल गस्ती 

बैतडी – फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बैतडीमा सुरक्षाकर्मीहरुले संयुक्त मोटरसाइकल गस्ती गरिहेका छन् । 

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मीहरुले संयुक्त रुपमा मोटरसाइकल गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । 

चुनावी सुरक्षा योजना अनुसार जिल्लाका शहरी क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त मोटरसाइकल गस्ती सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका,सुर्नया गाउँपालिकाका बजार क्षेत्रमा सुरक्षाकर्मीहरुको संयुक्त गस्ती सञ्चालनमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । जिल्लाका सबै जसो बजार क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन हुने उनले बताए । 

निर्वाचनको मिति नजिक आएका बेला स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन नेपाली सेनाले जिल्लाका १० ओटै तहमा बेस क्याम्प खडा गरेको श्रीबक्स गुल्मका गुल्मपति,  सेनानी पुष्प लामाले बताए । बेस क्याम्पमा रहेको नेपाली सेनाले आवश्यकता अनुसार गस्ती गर्नुका साथै अन्य सुरक्षा फौँजसँगको समन्वयमा संयुक्त गस्ती गरिरहेको बताइएको छ । 

जिल्लामा निर्वाचनका लागि २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी  थापाले बताए । आवश्यकता अनुसार सुरक्षाकर्मी थप परिचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

जिल्लामा चुनावको समयमा हुन सक्ने विभिन्न अवाञ्च्छित क्रियाकलापहरुलाई रोक्नका लागि जिल्ला सुरक्षा समितिले योजना अनुसार काम गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

गएको बुधबार डिलाशैनीमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएपछि जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । अब त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको थापाले बताए । 

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update