Sagun Khabar
बैतडीको पुर्चौडीमा ज्वरोले दाजुभाइको मृत्यु

बैतडी –बैतडीको पुर्चौडी नगरपालिका–१० महरगाउँमा एकै घरका दुई बालकको मृत्यु भएको छ । 

ज्वरोका कारण महरगाउँका स्थानीय कैलाश महरा र मानमती महराका १३ बर्षीय छोरा विनोद महरा र १० बर्षीय छोरा विकास महराको मृत्यु भएको पुर्चौंडी नगरपालिका–१० का  सदस्य विष्णु अवस्थीले जानकारी दिए । महरा दम्पतीका दुई मात्रै सन्तान रहेकोमा दुवैको ६ ६ दिनको अन्तरालमा दुःखद मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा सदस्य अवस्थीले बताए ।

विनोदको फागुन ११ गते मृत्यु भएको थियो भने विकासको आज बिहान मृत्यु भएको वडा सदस्य अवस्थीले बताए । विनोद कक्षा ७ र विकास कक्षा ५ मा अध्ययनरत रहेका थिए । 

दुवै जनामा ज्वरोका साथै वान्ता आएको र त्यस्ता लक्षण देखिएको दुई ÷तीन दिनमै मृत्यु भएको वडा सदस्य अवस्थीले बताए । 

६ दिनको अन्तरालमा एकै घरका दुई बालकको ज्वरोका कारण मृत्यु भएपछि चिकित्सक सहितको टोली महरा गाउँ पुगेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । आज बिहान खबर आउनासाथ चिकित्सकसहितको टोली महरागाउँका लागि प्रस्थान गरेको थियो । 

बिरामीहरूमा उच्च ज्वरो आउने, वान्ता हुने र जिउ दुख्ने लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताएका छन् । चिकित्सक, प्रयोगशालाकर्मीसहितको टोली गाउँमा पुगेको र अब परीक्षणपछि मात्रै रोगका बारेमा थप थाहा हुने कुँवरले बताए । 

कैलाश र मानमती महराले आफ्ना दुई सन्तान ६ दिनको अन्तरलामा गुमाउनु परेकाले दुवै  विक्षिप्त अवस्थामा रहेको बताइएको छ । एकै घरका दाजुभाइको ज्यान गएकाले पूरै गाउँ शोकमा डुब्नुका साथै रोगको त्रास समेत फैलिएको वडा सदस्य अवस्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update