बैतडी –नेकपा एमाले बैतडीले आफवाहको पछि नलाग्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमालेले रास्वपाका समानुपातिक उम्मेदवार हरिश भट्टले लगाएको आरोप झुटो र तथ्यहीन भएको दाबी गरेको छ ।
एमाले बैतडीका अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा बैतडीमा एमालेको चुनावी अभियान तीव्र र उत्साहजनक रूपमा अघि बढिरहेको जनाइएको छ । प्रेस विज्ञप्तीमा पार्टीका उम्मेदवार दामोदर भण्डारी चौथो पटक निर्वाचित हुने वातावरण बनेको दाबी गरिएको छ ।
बैतडीमा एमालेको नेतृत्वमा विगतमा शुरु गरिएका विकास निर्माणको कामहरुलाई पूर्णता दिनका लागि भण्डारी नै उपयुक्त उम्मेदवार रहेको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एमालेले पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उम्मेदवारविरुद्ध फैलाइएका आरोपहरूलाई ‘भ्रामक, तथ्यहीन र कपोलकल्पित’ भन्दै अस्वीकार गरेको छ । मतदातालाई भ्रमित पार्ने नियोजित प्रयासका रुपमा त्यस्ता कार्यहरु भइरहेको एमालेको दाबी छ ।
रास्वपा समानुपातिक उम्मेदवार भट्टले लगाएको आरोप प्रमाणसहित पुष्टि गर्न समेत एमालले चुनौती दिएको छ । अन्यथा अनावश्यक लाञ्छना लगाएर मानहानी गर्नेविरुद्ध कानुनी उपचार खोज्ने एमालेले जनाएको छ ।
एमाले उम्मेदवार दामोदर भण्डारीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै रास्वापका उम्मेदवार हरिशप्रसाद भट्टले शुक्रबार भिडियो सन्देश जारी गरेका थिए ।




