बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार हरिशप्रसाद भट्टले आफूमाथि दुर्व्यवहार भएको बताएका छन् ।
एमाले उम्मेदवार दामोदर भण्डारीले आफूमाथि अश्लील गाली गर्दै दुर्व्यवहार गरेको भट्टले आरोप लगाएका छन् ।
भट्टले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भिडियो सन्देशमा जिल्ला सदरमुकाम बैतडी गइरहेका बेला भण्डारीसँग कठपतेमा भेट भएको र सोही क्रममा गाली गरेको दाबी गरेका छन् ।
भट्टले भनेका छन्, ‘हामी बैतडी गइरहेका बेला सदरमुकामबाट फर्किरहेका भण्डारीको टोलीसँग कठपतेमा भेट भयो । शुक्रवार बिहान साढे ११ बजे भएको भेटमा मैले नमस्कार गर्दा भण्डारीजीले अश्लील गाली गर्नु भयो ।’
भिडियोमा रास्वपा समानुपपातिक उम्मेदवार भट्टले आफूले एमाले नेता लिलाधर भट्ट, दशरथचन्द नगरापालिकाका मेयर पुष्करराज जोशी र दामोदर भण्डारीलाई भेटेको बताएका छन् । उक्त भेटमा एक जना साथीले कता गइरहेको भनेर प्रश्न गर्दा जिल्ला प्रशासन भनेर जवाफ दिँदा भण्डारीले ‘तँ किन प्रशासन जानु पर्यो? तेरो दाँतसात झारी दिन्छु’ भन्दै ‘सिङ्गल सिङ्गल भिड्न आइजा’ भनेको भट्टले दाबी गरेका छन् ।’
आफूमाथि भएको दुर्व्यवहारका बिषयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइसकेको भट्टले बताए ।
यता एमाले उम्मेदवार भण्डारीले भने भट्टले लगाएको आरोपमा सत्यता नभएको बताए । उनले डिलाशैनीमा भएको घटना मिलाउनु पर्यो भनेर भट्टले भनेको तर कानुनअनुसार नै मुद्दा अगाडि बढ्ने आफूले बताएको दाबी गरे। । भण्डारीले गाली गरिएको कुरा निराधार रहेको बताए । उनले भने, ‘डिलाशैनीको घटना मिलाउनुपर्यो भन्दै थिए । मैैले मान्छेको ज्यान जाने हिसाबले आक्रमण भएको छ । यो मिलाउने कुरा हुदैन कानुन अनुसार हुन्छ भनेको हुँ । यही कुरालाई अतिरञ्जित गरिएको छ ।’
बुधबार बैतडीको डिलाशैनीमा एमाले र रास्वपाका कार्यकर्ताहरूबीच झडप भएको थियो । उक्त झडपमा एमालेका दुई र रास्वपाका एक कार्यकर्ता घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न भएको भन्दै पाँच जना रास्वपा समर्थकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ । सोही दिनदेखि बैतडीमा एमाले र रास्वपाबीच तिक्तता बढेको अनुमान गरिएको छ ।
बैतडीमा एमालेबाट २०७०, २०७४ र २०७९ मा जित निकालेका दामोदर भण्डारी उम्मेदवार छन् भने रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन् । दुवै उम्मेदवारको घर पाटन नगरपालिका–६ एउटै गाउँमा पर्दछ ।




