Sagun Khabar
बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन 

बैतडी–फागुन २१ गते हुने चुनावका लागि छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि बैतडीमा तालिम सञ्चालन भएको छ । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये ५ ओटा स्थानीय तहका मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि आज तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । बाँकी रहेका ५ ओटा स्थानीय तहका मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि भोलि तालिम सञ्चालन हुने उनले बताए । 

जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका मतदान केन्द्रमा खटाइएकाहरुका लागि आज तालिम सञ्चालन गरिएको हो । 
जिल्लाका एक अस्थायीसहित २ सय १५ ओटा केन्द्रमध्ये आज ९६ ओटा केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । 
तालिममा उनीहरुलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्य गराउने बिषयमा छलफल भएको छ । यस्तै सुरक्षा निकायकातर्फबाट पनि आवश्यक तयारीका बारेमा जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । 

तालिममा सहभागी भएकाहरुलाई मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले आफ्नो क्षेत्रमा संवेदनशील भएर खटिन आग्रह गरे । 

यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले निर्वाचनका लागि बैतडीमा तयारी अन्तिम चरणमा रहेकाले सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए । 

बैतडीमा निर्वाचनका लागि १ हजार २८८ जना कर्मचारी खटाइएका छन् । यहाँ एक निर्वाचन क्षेत्रका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । 

बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । 
  
 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update