बैतडी–फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर बैतडीमा फागुन १८ गतेदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
भारतसँग जोडिएको झुलाघाट नाकाका साथै तल्लोसोराड क्षेत्रमा महाकाली नदीसँग जोडिएका घाटहरु तीनदिन बन्द रहने प्रमुख जिल्ला अधिकारी थापाले बताए । चुनावको समयमा सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्च्छित क्रियाकलापहरु रोक्नका लागि सीमा नाका बन्द गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
निर्वाचन नजिक आएसँगै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको स्थानीय प्रशासनले जनाएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपीमार्फत सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।




