बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले सामाजिक सदभाव कायम राख्न आग्रह गरेको छ ।
बिहीबार एक अपिल जारी गर्दै आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नेतर्फ सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।
यही फागुन १३ गते डिलाशैनी गाउँपालिका–७ को लेकमा रास्वपा र एमाले कार्यकर्ताबीच भएको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले यस्ता घटनाहरुले समग्र जिल्लाको शान्ति–सुरक्षा, अमनचयन बाधा पर्न सक्ने जनाएको छ । घटनाको निष्पक्ष छानबीन गरी दोषीमाथि कानुनी कारवाही हुने समेत प्रशासनले जनाएको छ ।
सोही घटनाको सन्दर्भलाई लिएर बिहीबार सर्वदलीय बैठक बसको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । बैठकले अबका दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आपसी सम्पर्क, समन्वय र सहकार्य आवश्यक रहेको समेत प्रशासनले जनाएको छ ।




