Sagun Khabar
सुर्नयाको झाड्बो खानेपानी योजनामा अनियमितता भएको भन्दै प्रशासनमा उजुरी 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ को झाडबौ खानेपानी योजनामा अनियमितता भएको भन्दै प्रशासनमा उजुरी परेको छ । खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष समेत रहेका बेलु महराले खानेपानी योजनामा अनियमितता भएको आरोप लगाएकी हुन् । 

सुर्नया गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र स्थानीयहरुको जनश्रमदानमा सो योजना सम्पन्न भएको हो । सम्पन्न भएको योजनामा हिसाबकिताब चुस्तदुरुस्त नभएको, वडा अध्यक्ष र गाउँपालिकालाई समेत पैसा दिएको आरोप लगाइएको छ । 

Atrya hospital

१ करोड ८६ लाखमा निर्माण सम्पन्न भएको सो योजनामा उचित छानबीन गरिदिन प्रशासनमा उजुरी दिएको हो । खानेपानी समस्या झेल्दै आएका सो ठाउँका स्थानीयहरुको समस्या समाधानका लागि योजना निर्माण गरिएको भएपनि केही व्यक्तिले योजनामा अनियमितता गरेको प्रशासनमा दिएको निवेदनमा उल्लेख गरेको छ । 

खानेपानी उपभोक्ता समितिका सचिव देवबहादुर महराले भने खानेपानी योजनामा कुनै अनियमितता नभएको प्रष्ट पारेका छन् । खानेपानी योजनाको अन्तिम मूल्याकंनपछि भुक्तानी भएको र काम गरेको पैसा सबैलाई दिएको उनले बताए । 

खानेपानी योजना सम्पन्न गर्नका लागि प्राविधिक सहयोग गरेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले पनि सार्वजनिक सुनुवाई गरेपछि मात्रै खानेपानी योजनाको अन्तिम भुक्तानी भएको बताए । 

यता जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले खानेपानी योजनामा अनियमितता भएको भन्दै निवेदन आएको र सो बारेमा बुझ्ने काम भईरहेको बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update