Sagun Khabar
बैतडीमा ‘कडा कुपोषण’ भएका बालबालिकाको संख्या घट्दै 

बैतडी–बैतडीमा कडा कुपोषण भएका बालबालिकाहरुको संख्या घट्दै गएको छ । पछिल्ला बर्षहरुको तथ्यांक हेर्दा हरेक बर्ष कुपोषित बालबालिकाहरुको संख्या घट्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।  

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा बैतडीमा १५८ जना बालबालिकामा कडा कुपोषण देखिएको थियो । गत आर्थिक बर्षमा भने यो संख्या १३८ मा झरेको छ । 

चालु आर्थिक वर्षको हालसम्म ९० जना बालबालिकामा कडा कुपोषण देखिएको सूचना अधिकारी कार्कीले बताए । उचाइ अनुसारको तौल नभएका बालबालिकाहरुमा कडा कुपोषण देखिने गरेको उनले बताए । 

कडा कुपोषण देखिएका ५९ महिनासम्मका ९० जना बालबालिकाहरुको सम्बन्धित वडामा रहेका बहिरंग उपचार केन्द्रमा उपचार भइरहेको उनले बताए । कडा कुपोषण देखिएका बालबालिकाहरुलाई पोषिलो खाना दिएर उपचार गर्ने गरिएको कार्कीले बताए । जिल्लाका ८४ ओटै वडामा कडा कुपोषण देखिएका बालबालिकाहरुको उपचारका लागि बहिराग उपचार केन्द्र सञ्चालनमा रहेका स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए । 

कुपोषणको उपचारपछि निको भएर घर फर्केका बालबालिकामा पनि यो समस्या दोहरिने गरेको सूचना अधिकारी कार्कीले बताए । कुपोषण दोहोरिनुको कारण घरको खानपान रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयले चालु आर्थिक वर्षमा कडा कुपोषणको दर अझै घटाउने लक्ष्य राखेको छ । स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण तथा पोषण शिक्षा अभियानलाई थप प्रभवकारी बनाउने योजना रहेको सूचना अधिकारी कार्कीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update