Sagun Khabar
निर्वाचनका लागि बैतडीमा २ हजार ७ सय सुरक्षाकर्मी परिचालन 

बैतडी–यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा झण्डै २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

निर्वाचन सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । 

जिल्लाभरी निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती सञ्चालनमा रहेको उनले बताए । सुरक्षाकर्मीहरुले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा योजना अनुसार काम गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

जिल्लामा निर्वाचन सुरक्षाका लागि ३ सय ९६ नेपाली सेना, ३१४ सशस्त्र प्रहरी, ६०५ नेपाल प्रहरी र १३ सय ७५ निर्वाचन गरी २६ सय ९० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

आवश्यकता अनुसार थप सुरक्षाकर्मी समेत परिचालन गर्ने योजना रहेको बताइएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थललाई बढी केन्द्रित गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । 

निर्वाचनको समयमा हुन सक्ने विभिन्न अवाञ्च्छित गतिविधि रोक्नका लागि सुरक्षाकर्मीहरुको संयुक्त गस्ती जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

बैतडीमा १२९ मतदानस्थल र एक अस्थायीसहित २ सय १५ ओटा मतदान केन्द्र रहेका छन् । सुरक्षाको दृष्टिकोणले बैतडीका एक सय २९ मतदान स्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् । यस्तै, २८ वटा मतदान स्थल संवेदनशील र ६८ वटा मतदान स्थल सामान्य सूचीमा रहेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update