बैतडी –बैतडीका विभिन्न स्थानमा सञ्चालन भएको परिवार योजना शिविरबाट ७३ जना महिला तथा पुरुषले सेवा लिएका छन् ।
गएको माघ २७ गतेदेखि फागुन ७ गतेसम्म जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरबाट स्थानीय नागरिकहरुले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बैतडीको आयोजना, सुनौलो परिवार नेपाल र मेरीस्टोप इन्टरनेश्नलको प्राविधिक सहयोगमा जिल्लाका ७ ठाउँमा परिवार योजना शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए ।
व्यवस्थित परिवार बनाउन चाहने महिला तथा पुरुषहरुका लागि शिविर सञ्चालन गरिएको शिविर सञ्चालनमा सहजीकरण गर्दै आएका सिअहेव मनोज भट्टले जानकारी दिए ।
शिविरमा महिलाहरुका लागि स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुका लागि स्थायी बन्ध्याकरण भ्यासेक्टोमी सेवा दिइएको थियो ।
पञ्चेश्वर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा १४ जना महिला र ५ जना पुरुष गरी १९ जना, सुर्नयाको रौलेश्वर स्वास्थ्यचौकीमा १० जना महिला र ५ जना पुरुष गरी १५ जना, दोगडाकेदारको श्रीकोट स्वास्थ्यचौकीमा ६ जना महिला र एक जना पुरुष गरी ७ जना, पुर्चौंडीको कुवाकोट स्वास्थ्यचौकीमा ३ जना महिला, पुर्चौंडीकै हाट स्वास्थ्यचौकीमा ३ जना महिला, सिगासको गाँजरी स्वास्थ्यचौकीमा १८ जना महिला र ४ जना पुरुष गरी २२ जना, पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा २ जना महिला र २ जना पुरुष गरी ४ जनाले सेवा लिएका खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।
शिविर सञ्चालनको समयमा आवश्यकता अनुसार सुरक्षित गर्भपतन सेवा समेत प्रदान गरिएको सिअहेव भट्टले बताए ।
परिवार योजना सेवाको अभावमा व्यवस्थित परिवार बनाउन समस्या भएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।




