Sagun Khabar
बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु 

बैतडी –बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ । हरेक बर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने भएकाले शुक्रबारदेखि जात्रा शुरु भएको स्थानीयहरुले बताएका छन् ।

यो जात्रामा मन्दिरमा तीनरात बस्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा निङ्गलाशैनी भगवतीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने र पूर्णिमाको बिहान फेरी भण्डार घरमै पुर्याउने चलन रही आएको छ । 

Atrya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको महिना लाग्ने जात्रामा बलि दिने चलन रही आएको भएपनि यो जात्रामा भने बलि दिने चलन नरहेको स्थानीयबासी समेत रहेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक महिना नित्य पूजाआजा हुने गरेको र बिशेष पर्वहरुमा जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । दशैंको बेला महाष्टमीको दिन सो मन्दिरमा ठूलो मेला लाग्ने गरेको उनले बताए । 

यस्तै पौष शुक्ल पूर्णिमा, चैतको नवरात्री, अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा बिशेष पूजाआजा सहित मेला लाग्ने गरेको बोहराले बताए । 

अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा भीडभाड नहोस भनेर अस्थायी पसलहरु भने राख्न नदिएको वडा अध्यक्ष बोहराले जानकारी दिए । यस्तै मेला अवधिभर देहीमाण्डौं बजार क्षेत्रमा मदिरा निषेध गरिएको बोहराले जानकारी दिए । जात्रामा कसैले मदिरा सेवन गरी होहल्ला गरेमा कानुन अनुसार कारवाही हुने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update