बैतडी– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा मतपत्र र अन्य निर्वाचन सामग्री आइपुगेको छ ।
निर्वाचन आयोगले पठाएको सामग्री जिल्लामा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले बताए । प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र र अन्य निर्वाचन सामग्री जिल्लामा आइपुगेका उनले बताए ।
निर्वाचन आयोगले बैतडीका लागि प्रत्यक्षतर्फ १ लाख ६८ हजार र समानुपातिकतर्फ १ लाख ७१ हजार मतपत्र पठाएको सहायक निर्वाचन अधिकृत पन्तले बताए ।
यस्तै निर्वाचनका लागि अन्य आवश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् भने अन्य सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । मतपेटिका बाहेकका अन्य सामग्री जिल्लामा आइसकेका छन् । मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने भारतीले बताए ।
जिल्लामा आइपुगेका मतपत्रहरुको रुजु गर्ने काम भइरहेको र केन्द्र अनुसार प्याकेजिङको काम समेत भइरहेको सहायक निर्वाचन अधिकृत पन्तले बताए । निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि मतदान केन्द्रमा मतपत्र लगायतका सामग्री पुर्याउनुपर्ने भएकाले सोही अनुसार मतदान केन्द्रमा मतपत्र र अन्य सामग्री पठाइने पन्तले बताए ।
बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय १४ ओटा मतदान केन्द्र रहेका छन् । अस्थायी मतदाताहरुका लागि एक अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् ।




