Sagun Khabar
बैतडीका उम्मेदवार घरदैलो अभियानमा व्यस्त

बैतडी–प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिक आएका बेला बैतडीका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

विभिन्न दलबाट चुनावी मैदानमा उत्रेका उम्मेदवारहरु चुनावी प्रचारप्रसारको लागि घरदैलो अभियानमा व्यस्त रहेका हुन् ।  

फागुन २१ गते हुने चुनावका लागि उम्मेदवारहरुले आमसभा भन्दा पनि घरदैलो अभियानमै जोड दिइरहेका छन् । प्रचारप्रसारको शैली बदलिँदै गएपछि उम्मेदवारहरुले घरदैलो अभियानमा जोड दिएका हुन् । 

प्रत्येक वडा र पालिकामा घरदैलो अभियान सञ्चालन गरिरहेको एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले बताए । यो चुनावमा आमसभा भन्दा पनि घरदैलो अभियानमै केन्द्रित रहेको उनको भनाइ छ । उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमै व्यस्त रहेको उनले बताए ।

एमालेका उम्मेदवार दामोदर भण्डारीसहितको टोली मत माग्नका लागि घरदैलो अभियानमा व्यस्त रहेको केन्द्रीय सदस्य गिरीले बताए ।  

यस्तै नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा जोड दिएको छ । सबै वडामा प्रचारप्रसार समिति गठन गरेर घरदैलो अभियानमा केन्द्रित रहेको कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दसहित एकचरणको पालिकास्तरीय घरदैलो सम्पन्न भएपछि अहिले वडास्तरका प्रचारप्रसार समिति सक्रिय गराएर घरदैलो अभियान सञ्चालनमा रहेको सचिव जोशीले बताए । उनले भने, ‘अहिले हामी जिल्लाभरी घरदैलो अभियानमा सक्रिय भएर लागेका छौं । चुनावी प्रचारप्रसारमा घरदैलो अभियानमै केन्द्रित भएर लागेका छौं ।’

उम्मेदवार चन्दसहितको टोलीले घरदैलो अभियानलाई निरन्तरता दिएको कांग्रेसका अर्का सचिव प्रेमबहादुर चन्दले बताए । प्रचारप्रसार समितिका संयोजक एवं उपसभापति बिरबहादुर बिष्टले घरदैलो अभियानमा आफूहरु केन्द्रित रहेको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानलाई जारी राखेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए । मतदाताहरुलाई घरदैलो अभियानमार्फत पार्टीको एजेण्डा सुनाउने गरेको उनले बताए । रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीसहितको टोली घरदैलो अभियानमा खटिएको उनले बताए । 

यस्तै नेकपाका उम्मेदवार परमानन्द भट्ट प्रतिबद्धता पत्रसहित घरदैलो अभियानमा जुटेका छन् । आफूले पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गरेको र सोही प्रतिबद्धता मतदातासँग राखिरहेको उनले बताए । जिल्लाका सबै पालिका र वडाहरुमा मतदातसँग पुग्ने योजनासहित घरदैलो अभियान सञ्चालनमा रहेको भट्टले बताए ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारसहित घरदैलो अभियानलाई तीव्रता दिएको उक्त पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । जिल्लाका सबै पालिकाहरुमा घरदैलो अभियानलाई तीव्रता दिएको उनको भनाइ छ । उम्मेदवार भुपेनबहादुर चन्दसहितको टोलीले घरदैलो अभियान सञ्चालन गरिरहेको हो । 

जिल्लामा अन्य उम्मेदवारहरुले मत माग्नका लागि घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

फागुन २१ गते हुने चुनावका लागि बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । एमालेबाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द,नेकपाबाट परमानन्द भट्ट, रास्वपाबाट हरिमोहन भण्डारी, राप्रपाबाट भुपेनबहादुर चन्द चुनावी मैदानमा छन् । 

यस्तै जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट रामबहादुर कुँवर, आम जनता पार्टीबाट बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त चुनावी मैदानमा रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update