Sagun Khabar
नेकपाका उम्मेदवार भट्टद्वारा प्रतिबद्धता पत्र सार्वजनिक, सुशासन प्राथमिकतामा 

बैतडी –नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार परमानन्द भट्टले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्ला सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गर्दै भट्टले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उम्मेदवार भट्टले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनको मुद्दालाई प्राथमिकता दिइएको छ । समग्र शासन प्रणालीको सुधार नगरेसम्म सुशासन कायम नहुने भन्दै भट्टले सुशासनमा जोड दिएका हुन् । बजेटको दुरुपयोगमात्रै भ्रष्टाचार नभएर सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती पनि भ्रष्टाचार भएकाले यस्ता कुराहरुमा सुधार ल्याउने उनले प्रतिबद्धता पत्रमा समावेश गरेका छन् । 

पछिल्लो समयमा नययुवा आन्दोलनले उठाएका मागहरुलाई सम्बोधन गर्दै उनले शासकीय स्वरुपमा परिवर्तन ल्याउने उनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएमा आफूले नीति निर्माण र कानुन निर्माणमा केन्द्रित हुने उनको दाबी छ । उनले भने, ‘नीतिगत र कानुनी व्यवस्थामा सुधार ल्याउन सके विकास आँफै हुन्छ । त्यसैले हामीले प्रणालीगत सुधारमा ध्यान दिएका छौं ।’

अहिलेको शासकीय स्वरुपले देशमा आर्थिक भार थप्ने काम मात्रै गरिरहेकाले जिल्ला समन्वय समिति लगायतका अनावश्यक संरचनाहरु खारेज गर्नुपर्ने भट्टले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । उनले भने ‘देशले बिना काम भार खेपीरहेका संरचनाहरु खारेज गर्नुपर्छ । अहिलेको शासकीय स्वरुपलाई सिस्टमेटिक बनाउनुपर्छ ।’

निर्वाचन हुँदैमा र निर्वाचित हुँदैमा सबै समस्या हल नहुने बताउँदै उम्मेदवार भट्टले यसका लागि इमान्दार नेतृत्व हुनुपर्ने बताए । यो क्षेत्रमा रोजगारी सिर्जनाका लागि यहाँका ठूला परियोजना सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । पश्चिम सेती परियोजना, झुलाघाट मोटरेबल पुल, महाकाली करिडोर, ग्रामीण सडक कालोपत्रे, आधुनिक कृषिमा आधारित उत्पादन र वनपैदावार लगायतका कामले रोजगारीको आधार तयार गर्ने भट्टले बताए । 

बैतडीमा खानी तथा खनिजको प्रशस्त सम्भावना रहेकाले खानीको उत्खनन् तथा प्रशोधनले यो क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुने भट्टले बताए । 

उम्मेदवार भट्टले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा जिल्लाका मुख्य सडक संजाललाई स्थानीयतहका केन्द्र सम्म कालोपत्र गर्ने, बढ्दो बसाईसराईलाई रोक्न ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउने उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update