Sagun Khabar
बैतडीमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक सम्पन्न 

बैतडी –बैतडीमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक सम्पन्न भएको छ । 

बैठकले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अहिलेसम्म निर्वाचन आचारसंहिता पालना भए÷नभएको बिषयमा समीक्षा गरेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लामा अहिलेसम्म आचारसंहिता उल्लंघन गरेको लिखित उजुरी नआएको भएपनि मौखिक रुपमा विभिन्न गुनासा आइरहेकाले निर्वाचन आचारसंहिता परिपालनाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने निर्णय गरिएको भारतीले बताए । 

यस्तै उम्मेदवारहरुले चुनावी खर्चका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म पाँच जनालेमात्रै खाता खोलेकाले बाँकी उम्मेदवारलाई यही फागुन ५ गतेभित्र खाता खोलिसक्न आग्रह गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए । 

यस्तै आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबै पक्षले निर्वाचन आचारसंहिता परिपालनका लागि जिम्मेवार बन्नुपर्नेमा बैठकमा जोड दिइएको छ । 

यस्तै निर्वाचन प्रचारप्रसारका लागि राजनैतिक दल तथा उम्मेदवारहरुले आयोजना गर्ने आमसभाका लागि कार्यतालिका बनाएर यही फागुन ४ गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न भनिएको छ । यस्तै सबै उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र पेश गर्न समेत आग्रह गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक तीर्थराज भट्टको संयोजकत्वमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update