Sagun Khabar
नसर्ने रोगको पहिचानका लागि पाटनमा एक महिने अभियान सञ्चालन 

बैतडी–बैतडीको पाटन नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान सञ्चालन गरेको छ । 

पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढ्दै गएकाले अभिायनमार्फत नसर्ने रोगका बिरामीहरुको खोजी अभियान सञ्चालन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 
माघ १० गतेदेखि सञ्चालन भएको अभियान फागुन १० गतेसम्म सञ्चालन हुने उनले बताए । 

अभियान अन्तर्गत स्वास्थ्य संस्थाहरुमा ३० बर्षमाथिका नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको छ । नसर्ने रोगको लक्षण भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको हो । 
यस्तै नगरपालिकाभित्रका गाउँघर क्लिनिक र टाढाका बस्तीहरुमा समेत अभियान सञ्चालन गरेर नसर्ने रोगका बिरामीहरुको पहिचान गर्ने कार्य भइरहेको महराले बताए । 

अभियान अन्तर्गत उच्च रक्तचाप, मधुमेह, उचाइ र तौलको अनुपात परीक्षण गर्ने गरिएको छ । अभियानको सिलसिलामा नसर्ने रोग पत्ता लागेका बिरामीहरुलाई थप उपचारको आवश्यकता परेमा अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा रेफर गर्ने गरिएको महराले बताए । 

नसर्ने रोगको पहिचान कार्यक्रम अन्तर्गत पाटन नगरपालिकाभित्रका १० हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको महराले बताए । नसर्ने रोगको जोखिमका बिषयमा नागरिकलाई जानकारी दिनुका साथै बिरामीहरुलाई उपचारको दायरमा ल्याउन लागि अभियान सञ्चालन गरिएको पाटन नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update