Sagun Khabar
चतुर चन्द भन्छन् –‘परिवर्तित भएर आएका छौं, चुनाव जित्छौं’

बैतडी–आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले चुनाव जित्ने बताएका छन् । 

समयको माग अनुसार नेपाली कांग्रेस परिवर्तित भएर चुनावी मैदानमा रहेकाले चुनाव जित्ने उनले ठोकुवा गरेका छन् । बैतडीका विभिन्न पालिका र वडामा चुनावी अभियानको क्रममा मतदाताहरुसँगको भेटघाटपछि आफू उत्साहित भएको उनले बताए । 

चुनावी प्रचारप्रसारमा रहेका चन्दसँग गरिएको सगुन सम्वादमा उनले नेपाली कांग्रेस पुरानो पार्टी र नयाँ नेतृत्वसहित चुनावी मैदानमा रहेको बताए । जेनजी युवाहरुले उठाएका मागहरु नेपाली कांग्रेसले मात्रै सम्बोधन गर्न सक्ने भएकाले चुनाव जित्नु आवश्यक रहेको बताए । उनले भने, ‘हामी परिवर्तित भएर आएका छौं । यो पटक साथ दिनुहोस भनेर मतदाताहरुलाई भनिरहेका छौं ।’

चुनावी प्रचारप्रसारको सिलसिलामा नागरिकका विभिन्न समस्या बुझ्ने मौका पाएको बताउँदै उम्मेदवार चन्दले आफू पहिलो पटक चुनावी मैदानमा रहेकाले मत दिन आग्रह गरिरहेको बताए । उनले भने, ‘यहाँका नागरिकले मलाई मत दिएर पठाउनुभयो भने म देखिने गरेर काम गर्छु ।’

एक अर्को प्रसंगमा उम्मेदवार चन्दले बैतडीमा अहिले नेपाली कांग्रेस एकढिक्का भएर चुनावी मैदानमा रहेको दाबी गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबै नेता –कार्यकर्ताहरुले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने उनले बताए । 

झुलाघाटमा मोटरेबल पुल, महाकाली करिडोरको काम, साना उद्योग स्थापना, शैक्षिक क्षेत्रमा सुधार आफ्ना चुनावी एजेण्डा रहेको उनले सुनाए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update