बैतडी–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजामा सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा रहेको छ ।
आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार सुदूरपश्चिम प्रदेशले कुल ४५ दशमलव ७० अङ्क प्राप्त गर्दै देशभरका सातै प्रदेशमध्ये अग्रस्थान हासिल गरेको हो ।
मूल्याङ्कनमा कोशी प्रदेश दोस्रो स्थानमा रहँदै ४४ दशमलव २९ अङ्क प्राप्त गरेको छ । त्यसैगरी बागमती प्रदेशले ४२ दशमलव ४६, गण्डकी प्रदेशले ३७ दशमलव ९१, लुम्बिनी प्रदेशले ३४ दशमलव ७१, कर्णाली प्रदेशले ३२ दशमलव २६ र मधेश प्रदेशले सबैभन्दा कम २७ दशमलव २८ अङ्क प्राप्त गरेको आयोगले जनाएको छ ।
प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन प्रशासनिक क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन, सुशासन र सेवा प्रवाहका विभिन्न सूचकका आधारमा गरिएको आयोगले स्पष्ट पारेको छ ।सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा आउनुलाई प्रदेश सरकारको कार्यसम्पादन, स्रोत व्यवस्थापन तथा प्रशासनिक सुधारको सकारात्मक परिणामका रूपमा हेरिएको छ ।




