बैतडी–बैतडीमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत नहोस भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी भएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
आगामी फागुन ३ गतेदेखि प्रत्येक वडामा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र निर्वाचन सम्पर्क व्यक्तिहरुसँग आज छलफल तथा अन्तरक्रिया गरिएको निर्वाचन अधिकारी भारतीले बताए ।
मतदाता शिक्षा कार्यक्रममा खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई आ–आफ्नो स्थानीय तहमा सक्रियताका साथ खटाउने बिषयमा उनीहरुसँग छलफल भएको भारतीले बताए ।
बैतडीका ८४ ओटै वडामा ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटिनेछन् । उनीहरुले मतदान गर्ने बिषयमा मतदाताहरुलाई जानकारी गराउनेछन् । सही तरीकाले मतदान गर्ने बिषयमा स्वयंसेवकहरुले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
बदर मतको संख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




