Sagun Khabar
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न बैतडी प्रशासनको आग्रह 

बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । 

निर्वाचनकै बीचमा महाशिवरात्री, फागू पर्वजस्ता चाडपर्व समेत परेकाले यस्ता पर्वहरु मनाउँदा धार्मिक, सांस्कृतिक अनुशासित ढंगले मनाउन आग्रह गरेको छ । प्रशासनले एक अनुरोधपत्र सार्वजनिक गर्दै चाडपर्वहरु मनाउँदा निर्वाचन सुरक्षा र आचारसंसहितालाई ध्यानमा राख्न आग्रह गरेको हो । 

प्रशासनले जारी गरेको अनुरोध पत्रमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने र कसैले आचारसंहिताको उल्लंघन गरेको पाइएमा आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृतको कार्यालय र नजिकको सुरक्षा निकायमा खबर गर्न भनिएको छ । यस्तै मेला,जात्रा तथा कुनैपनि भीडभाड हुने कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ । 

पर्वका नाममा कसैको इच्छा विपरीतका कामहरु नगर्न र त्यसो गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यस्तै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने,अरुलाई असर पर्ने गरी डिजे बजाउने कार्य पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ । 

यस्तै फागू पर्वको समयमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, फोहर छ्याप्ने लगायतका असभ्य व्यवहार नगर्न प्रशासनले सचेत गराएको छ । निर्वाचनमा सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुलाई कुनै बाधा पर्ने काम नगर्न समेत आग्रह गरेको छ । प्रशासनको सूचनाको अवज्ञा गरी कसैले त्यस्ता कार्यहरु गरेको पाइएमा कानुन अनुसार कारवाही हुने बैतडी प्रशासनले जनाएको छ । 

DAO-Baitai-1770724389.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update