Sagun Khabar
जिसस बैतडीका सदस्य भाटलाई मस्तिष्क घात, उपचारमा सहयोगको अपिल 

बैतडी – जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं समाजसेवी प्रेमसिंह भाटलाई मस्तिष्क घात भएको छ । 

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले काठमाण्डौैमा आयोजना गरेको तालिममा सहभागी भएका भाटलाई मस्तिष्क घात भएको उनका भाञ्जा विरेन्द्र बिष्टले बताए । भाटको काठमाण्डौं मेडिकल कलेजको उच्च निर्भरता एकाइ (एचडियु)मा राखेर उपचार भइरहेको छ । 

पाटन नगरपालिका–९ घर भएका भाट ओखलेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्थाबाट  प्रतिनिधित्व गर्दै तालिममा सहभागी भएका थिए । भाटलाई माघ २२ गते बिहान एक्कासी रिङ्गटा लागेको थियो । उनलाई तत्काल सिभिल अस्पतालमा पुर्याइएको थियो । त्यसपछि उनलाई थप उपचारको आवश्यकता परेपछि केएमसीमा भर्ना गरिएको हो । 

अस्पतालमा गरिएको परीक्षणपछि भाटको दिमागमा रगत जमेको र मस्तिष्कघात भएको पुष्टि भएको छ ।

अवस्थाको जटिलतालाई मध्यनजर गर्दै अस्पतालले आवश्यक परे थप उपचारका लागि भारत लैजानुपर्ने अवस्था आउन सक्ने जनाएको छ । मस्तिष्कघातसम्बन्धी थप रगत परीक्षण नेपालमा उपलब्ध नभएकाले परीक्षणका लागि नमुना भारत पठाइएको बिष्टले बताए । 

लामो समयदेखि समाज सेवामा सक्रिय रहेका भाट बिरामी भएपछि उनको उपचारका लागि सहयोगको अपिल गरिएको छ । समस्यामा परेका बिरामीहरुका लागि अभियान सञ्चालन गर्दै आएका भाट बिरामी भएपछि उनको उपचारमा सहयोगका लागि अभियान सञ्चालन गरिएको पाटन नगरपालिका –९ का स्थानीय शिवराज भट्टले बताए । 

प्रेमसिंह भाटको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउँदै भट्टले सहयोग गर्ने मनकारीहरुले उनको ग्लोलब आइएमइ बैंकमा रहेको तलको खातामा रकम जमा गर्न सकिने बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update