Sagun Khabar
बैतडीको दोगडाकेदारले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने भएको छ । बालविवाहका कारण स्वास्थ्य, शिक्षा, सामाजिक लगायतका क्षेत्रमा प्रभाव पारेकाले यसको अन्त्यका लागि रणनैतिक योजना बनाउने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । उनले भने ‘बालविवाह अन्त्यका लागि हामीले रणनैतिक योजना बनाउछौं । सोही अनुसार काम अघि बढाउनेछौं ।’

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले बालविवाह अन्त्यका लागि सोमबार आयोजना गरेको पैरवी कार्यक्रममा अध्यक्ष कार्कीले गाउँपालिकाले रणनैतिक योजना बनाएर बालविवाह अन्त्यका लागि पहल गर्ने बताए । 

Atrya hospital

बालविवाहले किशोरीहरु धेरै समस्यामा परेकाले गाउँगाउँमा सञ्चालन भएका रुपान्तरण कक्षाले केही सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । अहिले मागी विवाह भन्दा पनि भागी विवाह बढी भईरहेकाले स्वयं किशोरकिशोरी सचेत हुनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन् ‘अहिले हाम्रो पालिकामा पनि रुपान्तरण कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमले बालविवाह न्यूनीकरणका लागि सहयोग गरिरहेको छ ।’

बालविवाह अन्त्यका लागि सर्वपक्षीय सहयोग आवश्यक भएकाले सबैले यसमा सचेत हुनुपर्ने दोगडाकेदार गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र भट्टले बताए  । बालविवाहकै कारण थुप्रै समस्या सिर्जना भईरहेकाले त्यस्ता समस्याको समाधानका लागि पनि बालविवाह अन्त्य हुनुपर्नेमा उनले जोड दिए । 
बैतडीका विभिन्न स्थानीय तहमा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालनमा छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाईसकेका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update