Sagun Khabar
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे 

बैतडी –बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको डा. जोशीले बताए । 

Atrya hospital

कोरोनासंग मिल्दाजुल्दा लक्षण भएका बिरामी आउने गरेका भएपनि अहिले भाइरल ज्वरोका बिरामी आउने गरेको उनले बताए । दूषित पानीको प्रयोगले पनि भाइरल ज्वरोका बिरामी बढेको डा. जोशीले बताए । उनले भने ‘अहिले मौसममा आएको परिवर्तनसंगै भाइरल ज्वरोका बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामी मध्ये आधा भन्दा बढीमा ज्वरोको समस्या देखिने गरेको छ ।’

जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । पछिल्लो समयमा भाइरल ज्वरोका बिरामी बढी आउने केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । तल्लोसोराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका उनले बताए । उनले भने ‘स्वास्थ्य संस्थामा उपचारका लागि आउने अधिकांश बिरामी मध्ये ज्वरोका बिरामी धेरै हुने गरेका छन् ।’

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पहिलाको तुलनामा भाइरल ज्वरोका बिरामी बढेको जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । अन्यको तुलनामा बालबालिकाहरुमा बढी समस्या देखिने गरेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update