Sagun Khabar
सुदूरपश्चिमको लगातार छैटौं जीत, चितवन ४९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौं खेलमा विजयी भएको छ । आज भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । सुदूरपश्चिमले दिएकाे १ सय ७० रनकाे लक्ष्य पछ्याएकाे चितवन १७ ओभर १ बलमा १ सय २० रनमा अलआउट भयाे । 

चितवनका रवि बोपराले २९ र देव खनालले २८ रन बनाए । सुदूरपश्चिमका पुनीत मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा, इसान पाण्डेले समान १ विकेट लिए । 

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । 

सुदूरपश्चिमका क्रिस लिनले सबैभन्दा धेरै ७५, आरिफ शेख र कप्तान दीपन्द्रसिंह ऐरीले समान २४ रन बनाए । चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १ विकेट लिए । 

सुदूरपश्चिम यसअघि नै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको छ । लगातार ६ खेलमा अपराजित सुदूरपश्चिमको १२ अङ्क भएको छ ।

चितवनको ‘प्ले अफ’ पुग्ने सम्भावना कठिन हुँदै गएको छ । अब आफ्नो अन्तिम खेलमा पोखरालाई हराए चितवनको ‘प्ले अफ’मा पुग्ने झिनो सम्भावना रहन्छ । चितवन ६ खेलमा २ जीत र चार हारसहित ४ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

आजै भएकाे पहिलाे खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफमा पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update