बैतडी - बैतडी घर भएका हरिमोहन भट्टको घरबाट ६ तोला सुन सहित नगद रकम चोरी भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया वनदेवी टोलमा बस्दै आएका उनको दसैँ मनाउन पहाड आएको मौका छोपेर चोरी भएको बताइएको छ । चोरले हरिमोहन भट्टको घरबाट ६ तोला सुन, २ तोला चाँदी र गुल्लकमा जम्मा गरेर राखेको करिब डेढ लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
घरधनी भट्टका अनुसार उनी परिवारसहित असोज २५ गते दसैँ मनाउन आफ्नो घर बैतडी आएका थिए । कार्तिक ५ गते दशैँ मनाएर कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया वनदेवी टोल स्थित घर फर्किएपछि घरमा चोरी भएको थाहा पाएको उनले बताएका छन ।
घटनाबारे भट्टले इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका छन । प्रहरी कार्यालय मालाखेतीका अनुसार चोरीसम्बन्धी उजुरी प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।




