Sagun Khabar
क्वारेन्टाइन कार्यालय झुलाघाटबाट प्रशासनिक कामबाहेकका सेवा ठप्प

बैतडी - बैतडीको झुलाघाटस्थित नेपाल–भारत सीमा नाकामा रहेको कृषि क्वारेन्टाइन कार्यालय झुलाघाटमा पछिल्लो समय प्रशासनिक कामबाहेकका सेवा पूर्णरूपमा ठप्प भएका छन्।

यसअघि कार्यालयले सीमा नाकाबाट आयात तथा निर्यात हुने कृषि जन्य उत्पादन, बोटबिरुवा र अन्य जैविक सामग्रीको स्वच्छता परीक्षण नियमित रूपमा गर्दै आएको थियो। तर हाल यो कार्य पूर्णरूपमा बन्द भएको क्वारेन्टाइन कार्यालय झुलाघाटका प्रमुख टेक बहादुर बि कले बताए ।

कार्यालय प्रमुख बि क का अनुसार, नेपाल सरकारले एनडीएफ (NDF – National Single Window Digital Facilitation System) प्रणाली लागू गरेसँगै झुलाघाट क्वारेन्टाइन कार्यालयमार्फत हुने प्रत्यक्ष परीक्षण कार्य रोकिएको बताइएको छ। नयाँ प्रणाली लागू भएपछि सबै प्रक्रिया डिजिटल माध्यमबाट केन्द्रीय रूपमा सञ्चालन हुने भएकाले स्थानीय क्वारेन्टाइन कार्यालयमार्फत हुने भौतिक परीक्षण, प्रमाणपत्र वितरण र निरीक्षण कार्य हाल स्थगित गरिएको क्वारेन्टाइन कार्यालय झुलाघाटका प्रमुख बि कले बताए ।

यसअघि कार्यालयले भारतबाट आउने फलफूल, तरकारी, दाल, बीउ, खाद्यान्न, काठका सामग्री र बोटबिरुवाको रोग परीक्षण र स्वच्छता प्रमाणपत्र जारी गर्दै आएको थियो। त्यसका साथै नेपालबाट भारततर्फ निर्यात हुने कृषिजन्य वस्तुको पनि आवश्यक प्रमाणीकरण यही कार्यालयबाट हुने गरेको थियो। तर सेवा ठप्प भएपछि व्यापारी र किसान दुवैलाई असुविधा भएको बताइएको छ ।

स्थानीय व्यापारीहरूको भनाइ अनुसार , क्वारेन्टाइन सेवा ठप्प हुँदा कृषि उत्पादनको आयात–निर्यात प्रक्रिया ढिलो हुने, थप खर्च बढ्ने र सामग्रीको बिग्रिने जोखिम बढेको बताइएको छ। उनीहरूले सरकारले प्रणालीलाई व्यवस्थित बनाउँदै स्थानीय कार्यालयहरूलाई पनि डिजिटल प्रणालीसँग जोडेर पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्।

एनडीएफ प्रणाली राम्रो कदम भएपनि भौतिक निरीक्षण र स्थानीय स्तरमा तत्काल निर्णय गर्न सक्ने संयन्त्र हुन पनि जरुरी हुन्छ। त्यसका बिना सिमानाका क्षेत्रमा देखिने समस्या समाधान गर्न गाह्रो हुने बताइन्छ । नेपाल र भारतबीच झुलाघाट नाका बैतडी जिल्लाको प्रमुख व्यापारिक प्रवेशद्वार हो। दैनिक रूपमा यो नाका हुँदै खाद्यान्न कृषि सामग्री ओसारपसार हुने गरेको छ।

क्वारेन्टाइन सेवा अवरुद्ध हुँदा यस नाकामा हुने कृषि व्यापार प्रभावित हुने देखिएको छ । सरकारले नयाँ प्रणालीलाई व्यवहारिक र स्थानीय स्तरमै लागू गर्न नसकेसम्म सीमा क्षेत्रमा क्वारेन्टाइन सेवा ठप्प रहिरहने संकेत देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update