बैतडी - सिन्धुपाल्चोकका इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका छन् ।
कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ । प्रधानाध्यापक भण्डारीमाथि कुटपिट भएको भन्दै शिक्षक महासंघ पालिका कार्यसमितिले दोषीलाई कारबाही गर्न माग गरेको छ ।
महासंघका अनुुसार, हिजो व्यवस्थापन समितिको बैठक बसिरहेको समयमा अध्यक्ष तामाङले गाली गर्दै कुटपिट गरेका हुन् । ‘अभद्र व्यवहार गाली बेइज्जतिसहित आँखा तथा गालामा गम्भिर चोटपटक लाग्ने गरी आक्रमण गरेको हुँदा सो घटना प्रति नेपाल शिक्षक महासंघ इन्द्रावती गाँउपालिका समिति घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निज तामाङलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याइ हदै सम्मको कारवाही गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौं ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कार्यकक्षमै प्रअ भण्डारीमाथि कुटपिट गरेका थिए । विव्यस बैठक बोलाउने सन्दर्भमा प्रअ भण्डारीले काटेको पत्रमा मिति नमिलेको भन्दै उनले कुटपिट गरेको एक शिक्षकले बताए ।





