Sagun Khabar
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

कैलाली–कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ ।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको नामसहितको प्रतिवेदन पेस गरेका थिए ।

सभामा पोखरेलले सिलबन्दीमा सिफारिस भएका नाम वाचन गर्दै योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरिएको जानकारी दिए ।

मन्त्री पोखरेलले १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्यांकनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत योग्यताक्रम निर्धारण गरी सिफारिस गरिएको बताए ।

उनले नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

उनी विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत रहनुका साथै यसै विश्वविद्यालयको संस्थापक कुलपतिका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् । 

अक्सफोर्ड विश्वविद्यालयको विभागीय सदस्यका रूपमा समेत कार्य गरेका जोशीले एमडी, एमफिल, पीएचडी, पीजीडीडी र एफआरएसपीएचलगायत शैक्षिक उपाधि हासिल गरेका छन् । उनी चिकित्सा शिक्षासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा सक्रिय छन् ।

नवनियुक्त रजिष्ट्रार डा. भीमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा र स्वास्थ्य प्रशासन क्षेत्रमा क्रियाशील छन् । उनले अस्पताल व्यवस्थापनमा स्नातकोत्तर तथा विद्यावारिधि हासिल गरेका छन् । यसअघि उनी यही विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यका रूपमा कार्य गरिसकेका छन् भने नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको भूमिकामा समेत काम गरिसकेका छन् ।

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update