Sagun Khabar
बैतडीको मेलौली, सुर्नया र डिलाशैनीमा आइतबारदेखि विद्यालय सञ्चालन हुने 

बैतडी –बैतडीका तीनओटा स्थानीय तहमा आगामी आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको पालिकाहरुले जनाएका छन् ।

जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाले भदौ २७ गते आइतबारदेखि विद्यालय सञ्चालन ल्याउने तयारी गरेका हुन् । विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा निकै प्रभाव परेकाले भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी भएको स्थानीय तहहरुले जनाएका छन् । 

Atrya hospital

जिल्लाको मेलौली नगरपालिकाले गत साउनमा विद्यालय सञ्चालनमा ल्याएको भएपनि कोरोना संक्रमित देखिएपछि बन्द गरेको थियो । नगरपालिका क्षेत्रमा कोरोना संक्रमणदर घट्दै गएपछि पुनः विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । उनले भने ‘हामीले भौतिक रुपमै विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका छौं । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी भएको हो ।’

जिल्लाको सुर्नया गाउँपालिकामा गत फागुन अन्तिम साताबाट बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमांशु भट्टले जानकारी दिए । आइतबारदेखि भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी भएको उनले बताए । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि आइतबारदेखि भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकामा यसअघि नै विद्यालय सञ्चालनमा ल्याईसकेको छ । जिल्लाका अन्य स्थानीय तहहरुले पनि विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update