
बैतडी : बैतडीको सुर्नया गाउँपालिका–४ पालीगडाका स्थानीय युवाहरूले इतिहास र बलिदानप्रति श्रद्धा व्यक्त गर्दै गाउँकै चोकलाई ‘जेन–जी जक्सन चोक’ नामकरण गरेका छन्।
नयाँ पुस्ताबाट गरिएको यो कदमलाई स्थानीयले सामाजिक चेतना र शहिदप्रतिको गहिरो सम्मानका रूपमा लिएका छन्। सतबाझँ–श्रीभावर सडकखण्डअन्तर्गत पर्ने पालीगडा चोकलाई औपचारिक रूपमा नयाँ नाम दिने कार्य एक कार्यक्रमका बिच सम्पन्न गरेको स्थानीय युवा एवंम जेन–जीका अगुवा विशाल भट्टले बताए ।
कार्यक्रममा स्थानीय युवा प्रकाश साउँदको नेतृत्वमा उपस्थित गाउँका स्थानीय युवा तथा समाजसेवीहरू समेत सहभागी रहेको बताइएको छ । स्थानीय जेन–जी समुहका अगुवा तथा अभियन्ता विशाल भट्टका अनुसार, “यो नामकरण कुनै सामान्य कुरा नभएर चेतना र इतिहासको प्रतीक भएको बताइएको छ । यो युवाको पुस्ताले शहिदहरूको सपना र इतिहासलाई जीवित राख्ने प्रयास रहेको उहाँको भनाइ रहेको छ ।
युवाले ‘जेन–जी’का शहिदहरूको सम्झनामा यो चोकलाई ‘जेन–जी जक्सन’ भनेर चिनाउने निर्णय गरेका बताइएको छ । जेन जी अभियान्ता प्रकाश साउँदका अनुसार, ‘जेन–जी जक्सन’ नामले युवामा आत्मविश्वास र राष्ट्रिय चेतना जगाउने लक्ष्य राखिएको बताइएको छ। स्थानीयहरुले पनि यो पहललाई उदाहरणीय भन्दै समर्थन जनाएका छन्।
बैतडीको सुर्नया स्थित पालीगडामा स्थापना गरिएको जेन जी नामकरणले इतिहासलाई सम्झनाका साथै नयाँ पुस्तामा देशप्रेम र सामाजिक जागरणको भावना जगाउँने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी युवाहरूले पालीगडालाई शान्ति, सहअस्तित्व र एकताको सन्देश दिने ठाउँका रूपमा विकसित गर्ने संकल्प समेत व्यक्त गरेका छन । उनीहरूले ‘जेन–जी जक्सन चोक’लाई भविष्यमा सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्रबिन्दुका रूपमा विकास गर्ने योजना रहेको बताएका छन्।
यो चोकको नामकरणसँगै बैतडीका विभिन्न गाउँहरूमा पनि स्थानीय इतिहास र शहिदहरूको सम्झनामा आउदा दिनमा अन्य ठाउँमा पनि स्मृति चिह्न र नामकरण अभियान सुरु गर्ने तयारी रहेक बताइएको छ । शहिदको सम्झना, इतिहासको सम्मान र नयाँ पुस्तामा सकारात्मक सोच फैलाउने उद्देश्यसहित गरिएको ‘जेन–जी जक्सन चोक’ नामकरण बैतडीका युवाहरूको जागरण र देशभक्तिपूर्ण अभियानको प्रतीक बनेको छ।